स्वास्थ्य राज्यमन्त्री वलीले दिइन् राजीनामा

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

जेठ अन्तिममा दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

समितिले वली र बस्नेतसँग छलफल गरिसकेको छ । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।


Published :१५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media