काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेमा अब माओवादीको बीउ उम्रने सपना नदेख्न आग्रह गरेका छन् ।
‘हुन त आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ- हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर । त्यो एउटा खास धारा उत्साहित र संगठित गर्नका लागि उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ,’ कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा आज बोल्दै नेता भुसालले भने, ‘तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन ।
माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रन्न ।’ आज बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू एकीकृत र केन्द्रीकृत गर्न नेकपा एमालेमा माओवादीको बीऊ छाडेको र त्यसले केही समयभित्र फल दिने बताएका थिए।