निर्वाचनमा भ्रामक र गलत सूचनाको उच्च जोखिमः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेताले जे बोल्छन् त्यो सत्य हो भन्ने बुझ्नु गलत भएको बताएका छन् ।  त्यसैले निर्वाचनमा भ्रामक र गलत सूचनाको उच्च जोखिम हुने बताए ।

उनले भने, ‘नेताले जे बोल्छन्, त्यो सत्य हो भन्ने बुझ्नु गलत हो । नेताले बोलेको सूचना पनि भ्रामक छ, सत्य छैन, तथ्य होइन भने त्यसको प्रतिरोध गर्न सक्नुपर्छ, भ्रामक सूचनाले कसैलाई पनि लाभ गर्दैन ।’

उनले भने, ‘अहिले भ्रामक सूचना यतिसम्म खतरनाक छ कि यसले कतिपयको ज्यान लिइरहेको छ भने कतिपय अवस्थामा मुलुकको विकास र सिंगो अर्थतन्त्रलाई नै प्रभावित पारिरहेको छ। अब हरेक मान्छेले कुन सूचना सही छ ? र कुन गलत छ ? भनेर छुट्याउन सक्नुपर्छ ।’

आमनिर्वाचन र भ्रामक सूचनाको प्रभावबारे जर्मन संस्था फ्रेडरिक एबर्ट स्टीफटङ नेपालको सहयोगमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भ्रामक सूचनाले मुलुकको विकास निर्माणलाई नै प्रभावित गरिरहेको बताए ।

उनले एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर गलत प्रचार हुँदा कुनै पनि नेपाली सञ्चारमाध्यमले त्यो भ्रामक सुचना हो भनेर लेख्न नसकेको भन्दै सञ्चारमाध्यमले समेत कुन सूचना कस्तो हो भनेर छुट्याउन सक्नुपर्ने बताए । उनले निर्वाचनमा राजनीतिक दल र नेताहरूले त्यस्तै भ्रामक सूचनाको खेती गर्ने समस्या रहेको बताए ।

उनले भने, ‘चुनाव आयो, अब तपाइँहरू सबैले ध्यानमा राख्नुहोला । राजनीतिक दल र नेताहरूले भ्रामक सूचनाको प्रसार गरेर भोट लिन सक्छन्। भोट पाउँछु भनेर जनताको बीचमा भ्रम छर्ने काम गर्नु राम्रो होइन । हिजो एमसीसी पास गर्ने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरियो । तर, अहिलेसम्म सेना आएको छैन। बरू एमसीसीले सडक र विद्युत प्रसारण लाइन विस्तारको काम अगाडि बढाएको छ ।’

उनले विगतमा सरकारबाटै त्यस्तो भ्रामक सूचना सम्प्रेषण गर्ने काम भएको र त्यस्तो भ्रमले मुलुकलाई ठूलो क्षति गरेको बताए ।

उनले अगाडि भने, ‘अघिल्लो सरकार आफैँले जनतामा भ्रामक सूचनाको प्रसार गर्ने काम गर्‍यो, तर अहिलेको सरकारले जनतामा त्यस्तो भ्रम छर्ने काम गरेको छैन ।’


Published :१५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media