काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा. भीम रावलले संसदीय समितिले दिएको निर्देशन विपरीत रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाएका छन् ।
बुधवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसद रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाएका हुन् ।
उनले समितिले अमेरिकी सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताबारे जानकारी गराउन निर्देशन दिए पनि त्यसको अवज्ञा गर्दै रक्षा मन्त्रालयको तर्फबाट कागजातउपर सम्झौता गराउने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय यसलाई अघि नबढाउने भएको हुनाले यो व्यहोरा सम्मानित समितिमा सभापतिबाट निर्देशित गराउँछु भन्ने पत्र पठाई समितिकै अवज्ञा गरेको बताए ।
सांसद रावलले कानूनी र प्रशासनिक दृष्टिकोणबाट पनि यो समितिको निर्देशन विपरीतको पत्र भएको दाबी गरे । उनले समितिले बारम्बार एसपीपीको बारेमा स्पष्ट जानकारी सरकारसँग माग गरे पनि सरकारले अमेरिकालाई पठाएको पत्र वा मन्त्रिपरिषदको निर्णय नै नपठाइ बिना अर्थको पत्र समितिमा पठाएको बताए । उनले संविधानले अख्तियार प्रदान गरेको समितिलाई कुनै एउटा मन्त्रालयले यस किसिमको पत्र लेख्न नसक्ने जिकिर गरे ।
सांसद रावलले समितिको बारेमा नेपाल सरकार र सम्बन्धित निकायलाई राम्रोसँग जानकारी नरहेको भन्दै मन्त्रालयको समितिलाई पठाएको पत्र आपत्तिजनक रहेको बताए ।