सरकारले एसपीपीमा भाग नलिन लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीमबहादुर रावलले सरकारले अमेरिकालाई एसपीपीमा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

काडमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले एसपीपीबारे अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । उनले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए ।

सांसद रावलले सरकारले अमेरिको राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसीप प्रोग्राम लागू गर्न खोजेको तर देशव्यापी बिरोधपछि रोकिएको दाबी गरेका छन् । उनले अहिलेको गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप लगाए ।

सांसद रावलले नेपालको अर्थतन्त्र, कृषि र मुलुकको सुरक्षामा देखिएको बाह्य हस्तक्षेप बढ्दै गए नेपालीहरुले दैनिकी कटकर र पीडादायी हुने बताए ।

उनले सातवटाभन्दा बढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । सांसद रावलले सरकार र गठबन्धन दलहरु कुन मन्त्री कति महिना बनाउने र फेर्ने भन्नेमा मात्रै केन्द्रित रहेको बताए । उनले देशको राष्ट्रियतामा असर पर्ने कुराहरु के–के हुँदैछन् भन्ने कुरामा प्रधानमन्त्रीसमेत चिन्तित नरहेको आरोप लगाए ।

सांसद रावलले सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने भनेर पत्र नै नपठाएको आरोप लगाए । उनले सरकारका मन्त्रीहरुले संसदमा जानकारी दिए पनि पत्र भने नपठाएको दाबी गरेका छन् । सांसद रावलले एसपीपी सम्बन्धमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन सम्बन्ध समितिले समेत दस्तावेज माग गर्दा अहिलेसम्म दस्तावेजहरु सरकारले नबुझाएको बताए ।

उनले नेपालको परराष्ट्र नीतिलाई मिच्ने,मनपरी निर्णय गर्ने, कुटनीतिक रुपमा पत्रचार गर्ने निकायले पत्रचार गर्ने र ठूला शक्तिराष्ट्रहरुका अगाडि झुकेर संविधानको प्रावाधानलाई कार्यान्वयन नगर्ने प्रधानमन्त्रीको चरित्रका कारण परराष्ट्र नीति र कुटनीतिमा गम्भीर विचलन देखापरेको आरोप लगाए ।


Published :१६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media