सुवास नेम्वाङको सरकारलाई प्रश्नः महाभियोग प्रस्ताव कहिले अगाडि बढाउने ?

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव कहिले अगाडि बढाउने ? भनी सरकारलाई प्रश्न गरेका छन् । ६४औँ संसद सेवा दिवसका अवसरमा संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपनेता नेम्वाङले महाअभियोग प्रस्तावलाई अगाडि नबढाउनु ठीक नहुने बताए ।

उनले महाभियोग सिफारिस समिति गठन गर्दा एमालेले समितिमा रहने सदस्यहरुको नाम नै दिन्छ कि दिँदैन भन्ने संशय सत्तारुढ दलहरुले राखेको बताए । तर अवरोधको समयमा पनि पार्टीले सिनियर साथीहरू पठाएको बताए । तर समितिलाई  महाभियोगमाथि अध्ययन गर्न नदिएको आरोप लगाए । यसले  प्रस्ताव अगाडि बढाउन खोजेको हो कि होइन ? भन्ने प्रश्न उठेको उनले बताए ।

१ फागुन २०७८ मा प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनका ९८ सांसदले संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग प्रस्ताव अगाडि बढाउने क्रममा प्रतिनिधिसभाले २२ फागुन २०७८ मा ११ सदस्यीय महाभियोग सिफारिस समिति बनाएको थियो । तर,  अझैसम्म महाभियोग सिफारिस समितिमा प्रस्ताव पठाइएको छैन । महाभियोग प्रस्ताव दर्तापछि जबरा हाल निलम्बित अवस्थामा छन् ।

सत्तारुढ दलले महाभियोग हतार हतारमा ल्याउनु र अगाडि नबढाउनुले अनेकन आंशका जन्माएको भन्दै एमाले उपनेता नेम्वाङले महाभियोग प्रस्तावलाई यतिकै राख्न नहुने बताए ।


Published :१६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media