संघीयता खारेज गरी स्थानीय तह बलियो बनाउनुपर्ने कमल थापाको भनाइ

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयता खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

पार्टीको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष थापाले शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै संघीयता सही नभएको बताएका हुन् । उनले प्रदेश संरचनाको कुनै औचित्य नभएको दाबी गरे ।

उनले भने, ‘संघीयताको वर्तमान स्वरूप परिवर्तन गर्न आवश्यक छ । प्रदेश संरचना खर्चिलो भयो, यस्को औचित्य पनि छैन । स्थानीय तहलाई बलियो बनाऔँ ।’

अध्यक्ष थापाले अहिले बाह्य शक्तिको प्रभावले सिंगो देश नै संकटमा पर्ने दाबी गरे । उनले नेपालमा करोडौं लगानी गरेर धर्म परिवर्तन गर्ने काम भइरहेको समेत बताए । लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान नदिएको उनको ठहर छ । उनले भने, ‘म सरकारसँग माग गर्दछु, यसलाई समयमै रोकौँ । त्यसो नगरिए देश नै संकटमा पर्ने खतरा छ।’

थापाले राजसंस्था पुर्नस्थापना हुन नसक्ने भएकाले जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिँडेको बताए ।


Published :१७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media