प्रचण्ड-माधवले अदालतको फैसलाको चार महिनाअघि नै नेकपा फुटाएको केपी ओलीको दाबी  

राष्ट्रपाटी न्युज

असार १७, २०७९

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधवले अदालतको फैसलाभन्दा चार महिनाअघि नै नेकपा फुटाएको दाबी गरेका छन् । पार्टीको प्रचार तथा प्रकाशन विभागका सदस्यहरुसँग भएको अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन् ।

उनले प्रचण्ड माधवले नेपालमा कम्युनिष्ट आन्दोलनलाई सखाप पार्ने र दक्षिणपन्थीहरुलाई सहयोग गर्ने शर्तमा नेकपा फुटाएको बताए ।

अध्यक्ष ओलीले २०७७ कातिक २७ गतेअघि नै माधव-प्रचण्डले नेकपा फुटाइसकेको बताए । उनले भने, ‘२०७७ कात्तिक २७ गते नेकपाको सचिवालय बैठक बालुवाटारमा बसेको बेला प्रचण्डले ज्ञापन पत्रको शैलीमा एउटा कागज मलाई बुझाउनुभयो । रेन्डम्ली त्यसलाई पल्टाएर हेर्दा नेकपा सग्लो हुने देखिन । उनले भने, ‘मैले उहाँहरुलाई भने यस कागजले त नेकपा फुटिसकेको जनाउ दिएको छ । यसमा तपाईंहरुले हस्ताक्षर गरेर ल्याउनुभएको छ । पार्टी सग्लो राख्ने र कम्युनिष्ट आन्दोलन बचाउने हो भने यो कागज फिर्ता लैजानुहोस् ।’

त्यसको करिब चार महिनापछि फागुन २३ गते सर्वोच्च अदालतले त्यसलाई औपचारिकता मात्र प्रदान गरेको अध्यक्ष ओलीको भनाइ छ ।

पार्टीका अध्यक्ष र प्रधानमन्त्री ओलीलाई प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल,नारयणकाजीलगायतका सचिवालयका नेताहरुले १९ बुँदे फौजदारी शैलीका आरोप लगाएर सचिवालयमा पत्र बुझाएका थिए ।
अध्यक्ष ओलीले भने, ‘पार्टीको निर्वाचित अध्यक्ष,संसदबाट चुनिएको प्रधानमन्त्रीलाई जबरजस्ती हटाउन उनीहरु कतैबाट परिचालित थिए । कातिक २७ गते त्यसको कास्टिङ नेकपाको सचिवालय बैठकबाट गरेका हुन् ।’ उनले त्यसको सुरुवात धेरै पहिले भइसकेको र वास्तविक डिजाइन के थियो भन्ने कुरा पछि सर्वोच्चको परमादेशबाट स्पष्ट भएको बताए ।


Published :असार १७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media