महिलामाथिका जघन्य अपराध नियन्त्रण गर्न आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको जघन्य अपराधका  घटना नियन्त्रण गर्न नसकिने बताएकी छिन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएकी हुन् ।

महिला हिंसा नियन्त्रणका लागि उनले महिलामाथि हुने अपराध नियन्त्रण गर्न आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । उनले महिला हिंसा नियन्त्रणका लागि भएका विधि र प्रविधिलाई सुदृढ गरेर लैजान पनि सरकारलाई सचेत गराइन् । हिँड्दाहिँड्दै हुने महिला हिंसालाई नियन्त्रण गर्न सोही अनुसारको प्रविधिको व्यवस्था गर्न ढिलाई गर्न नहुने धारणा समेत सांसद पाण्डेले राखिन् ।

अपराधको अनुसन्धान गर्ने क्रममा अहिले जे कुरा भइराखेको छ त्यसका लागि विधि र प्रविधि नपुग्ने भन्दै उनले यसलाई सुदृढ गरेर लैजानुपर्ने बताइन् । उनले हिँड्दा हिँड्दै हुने हिंसालाई कम गर्ने प्रविधिको पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने माग गरिन् । त्यसैगरी जथाभावी जरिवाना गर्नेभन्दा पनि त्यसको पनि राष्ट्रिय/अन्तराष्ट्रिय मापदण्डलाई हेरेर आवश्यक व्यवस्था मिलाउनु पर्ने भनाइ उनको थियो ।

महिला हिंसाका घटनाका दोषीलाई गरिने जरिवानाको पनि निश्चित मापदण्ड बनाउनुपर्नेमा जोड दिँदै सांसद पाण्डेले महिला हिंसाका घटनाका पीडितलाई न्याय दिने गरी सबै स्थानीय तहमा सुनुवाई समितिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।


Published :१७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media