अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले आज छुट्टै भेला आयोजना गर्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विवाद उत्कर्षमा पुगेको  छ । सोही सिलसिलामा सो संगठनको असन्तुष्ट पक्षले आज छुट्टै भेला आयोजना गर्ने भएको छ ।

बानेश्वर क्याम्पसमा हुने भेलाबाट राष्ट्रिय भेला आयोजक समिति घोषणा हुने असन्तुष्ट पक्षका विद्यार्थी नेताहरूले जानकारी दिएका छन् ।

सो संगठनको असन्तुष्ट पक्षको नेतृत्व विद्यार्थी नेता पवन कार्कीले गर्ने भएका छन् । संगठनमा उपाध्यक्ष रहेका उनीसहित केही नेताहरू कारबाहीमा परेका छन् । कार्कीसहितका विद्यार्थी नेतामाथि कारबाही गरिएपछि अखिल क्रान्तिकारीको विवाद थप उत्कर्षमा पुगेको हो ।

असन्तुष्ट पक्षका एक विद्यार्थी नेताले आज वानेश्वर क्याम्पसबाट पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा हुने बताएका छन् । उनका अनुसार अहिले आयोजक समिति सदस्यहरूको नाम संकलन भइरहेको छ ।

संयोजकका साथै केही विभाग र कार्यालय टिम तयारी गरी राष्ट्रिय भेलाको मितिबारे पनि छलफल हुने असन्तुष्ट पक्षका नेताहरुले बताएका छन् ।तल्लो कमिटीबाटै संगठनको पुनर्गठन गर्दै आउने उनीहरुको योजना रहेको छ । सो पक्षले आगामी असोजसम्म राष्ट्रिय भेला गर्ने गरी तयारी थालेको छ ।

संगठन विधान विपरीत चलेको, निषेध गरिएको र पार्टी अध्यक्ष प्रचण्डको निर्देशनविपरीत कमिटी चयन गरिएको आरोप असन्तुष्ट पक्षको छ । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने संगठनविरुद्ध हुने भेलामा सहभागी नहुन निर्देशन जारी गरेकी छिन् । उनले सो भेलामा सहभागी हुनेहरुलाई कारबाही गरिने चेतावनी समेत दिइन् ।


Published :१८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media