सत्तारुढ दलका नेताहरुको सामूहिक प्रतिबद्धताः विमानस्थल निर्माण गरेरै छोड्छौँ  

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहित निजगढ विमानस्थल निरीक्षणका लागि बारा पुगेका सत्तारुढ दलका नेताहरुले विमानस्थल निर्माण गरेरै छोड्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवासहित सत्ता साझेदार दलका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतले बारा पुगेर विमानस्थलको निरीक्षण गर्दै विमानस्थल निर्माणलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले निर्माणधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त स्थान भएको बताए । विधि र प्रक्रिया पूरा गरेर हालकै निर्माणाधीन विमानस्थललाई पूर्णता दिइने जानकारी दिए ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निवगढ विमानस्थल निर्माणको कार्यलाई ढिला गर्न नहुने बताए । उनले भने, ‘यो विमानस्थल समयमै निर्माण सुरु नगरे करोडौं लगानी अलपत्र पर्छ । यतिमात्र होइन, फास्ट ट्रयाकको औचित्य पनि पुष्टि हुँदैन। त्यसैले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्छ।’ उनले निजगढ विमानस्थल निर्माणका लागि सरकारले देखाएको चासोप्रति आफू सकारात्मक भएको उल्लेख गरे ।

यसैगरी अवलोकनमै गएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणको कार्यलाई भने रोक नलगाएको बताए । फैसलाको पूर्ण पाठअनुसार वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने उनको भनाइ छ ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निजगढ विमानस्थल निर्माणका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताए। पाँच–५ दशकपछिको अवस्थालाई मध्यनजर गरेर विमानस्थल निर्माणको कार्य अघि बढाउनुपर्ने उनको भनाइ छ ।


Published :१८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media