बागमतीका मुख्यमन्त्री हटाउन कांग्रेस र माओवादीका सांसदद्वारा हस्ताक्षर अभियान

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा गठबन्धनको शीर्ष तहमै छलफल हुनुपर्ने अडान राखेको छ । शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले यस्तो अडान राखेको हो ।

सो बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निश्कर्ष निकालेको छ । बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान नै चलाएका छन् । तर एकीकृत समाजवादीले भने मुख्यमन्त्री हेरफेरको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने अडान लिएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरुको बाँडफाँड गर्ने गरी शीर्ष तहले नै टुंग्याउनुपर्ने बताए ।

सबै प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय उठेको भन्दै उनले भने, ‘यसकारण गठबन्धनका दलभित्र बसेर सबैतिर सेटल गर्ने गरी उपयुक्त अवसरहरुको बाँडफाँड गर्ने गरी काम गर्‍यो भने सबैभन्दा परिपक्व हुन्छ, प्रत्येक सांसदहरुले तनाव लिनुपर्दैन । अथवा म फलानोलाई हटाउन लागिरहेको छु बनाउन लागिरहेको छु भन्ने तनावबाट उनीहरु मुक्त हुन्छन्, पार्टीभित्र दबाव कम हुन्छ ।’

७ प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एकजना मुख्यमन्त्री रहेका छन् । एकीकृत समाजवादीले पनि बागमती प्रदेशको मुख्यमन्त्री छाड्नुपर्ने अवस्थामा आफूहरुले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने अडान राखेको छ । ‘कहीँ न कहीँ अवसरहरुको बाँडफाँड हुन्छ नि, बागमती नभए अर्को ठाउँमा होला’ प्रचार विभाग प्रमुख खतिवडाले भने ।

एकीकृत समाजवादीका बागमती प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले शनिबारको संसदीय दलको बैठकले मुख्यमन्त्री परिवर्तनको विषय शीर्ष नेताको बैठकले टुंग्याउने निर्णय गरेको बताए ।


Published :१८ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media