“सरकारको छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध कहीँ पनि नगरेको दाबी गरेका छन् । अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेको तर मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताए । सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषिक्षेत्रको उत्थान हुनै नसक्ने जिकिर गरे ।

उनले भने, ‘हामीले सरकार छोडेको मात्रै हिसाब गर्दा मात्रै चामल कसरी आयात भयो ? कृषि प्रधान देश । ६० प्रतिशत जनता कृषिमा संलग्न छ । यस्तो अवस्थामा कृषि प्रधान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँटहरु छन । जहाँको जनसंख्या ३ करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बके आयात गर्छौ चामल मात्रै । हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन । यो किन यस्तो हुन्छ ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । त्यही कुरा ६ महिनाअगाडिदेखि प्रयास गरे हुन्थ्यो नि । अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसदमा उभिएर भन्नु भयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन् । वाणी मिठो थियो । कुरा राम्रो थियो । तर ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ? अर्थात् अलमल्याउने काम भएको छ । अलमल्याउने कामबाट, छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन ।’


Published :१८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media