विमला वलीको व्यवहार पदीय मर्यादाविपरीत रहेको छानबिन समितिको निष्कर्ष

बुटवल । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीको व्यवहार पदीय मर्यादाविपरीत भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । समितिले आवेगमा माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत काम गरेको निष्कर्ष छानबिन समितिले निकालेको हो ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै वलीबाट विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादा विपरीत आवेगात्मक कमजोरी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।

समितिले बुझाएको प्रतिवेदन भनिएको छ, ‘एकराज बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी हुन गएको देखियो ।’ छानबिन समितिको प्रतिवदेनमा अगाडि भनिएको छ ‘अन्य उपायबाट रकम असुली गर्नुपर्दथ्यो ।’ विमलाले एकराजसँग साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानबिनमा खुलेको छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले भने मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने बताए । ‘एकराजले घरमै छु भनेर बोलाएको घरमा जाँदा उनी नभएको तर धेरैजना आफन्त र पत्रकारसमेत पुगिसकेकाले सुनियोजित तरिकाले बदनाम गर्न खोजिएको पनि आशंका छ’, मुख्यमन्त्री केसीले भने । प्रतिवेदनको विस्तृत अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने मुख्यमन्त्री केसीले बताए ।

विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी र १५ गते राजीनामा स्वीकृत भएको थियो ।

राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् ।


Published :१८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media