काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबारेको पत्र अमेरिकालाई पठाउन बाँकी रहेको जनाएको छ ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताइन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रवक्ता लम्सालले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यमहरुलाई जानकारी दिने बताइन् ।
सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेकाले पत्र भने पठाइनसकेको उनले बताइन् ।
प्रवक्ता लम्सालले अध्ययन भइसकेपछि मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन पनि आग्रह गरिन् ।
प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने जानकारी दिइन् ।
परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरुको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रुपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएको छ ।
त्यसैगरी राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाइन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन् ।