प्रहरीद्वारा सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नी पक्राउ

राष्ट्रपाटी न्युज

३ श्रावण २०७९

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा रहेको सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् ।

सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी थिए । त्यही कसूरमा फरार रहेकामा उनलाई पक्राउ गरिएको महतोले बताए ।

सिर्जना शाक्यको नाममा काठमाडौं जिल्ला अदालतले २०७८ पुसमा पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिइन् । साउन ३ मा उनलाई रामशाहपथबाट पक्राउ गरिएको एसपी महतोले जानकारी दिए । ब्यूरोका अनुसार सो सहकारीबाट १५३० जना ठगिएका छन् ।

सहकारीबाट ठगिएको भन्दै १५३० बचतकर्ताले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा पूर्वसांसद समेत रहेका तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश छ ।


Published :३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media