सभामुखमार्फत् एसपीपी स्वीकार नगर्ने पत्राचारका लागि रुलिङ गर्न माग

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)  सम्झौताबारे परराष्ट्र मन्त्रालयका प्रवक्ताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखमार्फत् पत्राचारका लागि रुलिङ गर्न माग गरे ।

उनले अमेरिकाले घुमाउरोबाट नेपाललाई आइपीएसको अंग बनाउने प्रयत्न गरिरहेको भन्दै यदि नेपाल आइपीएसको अंग बने नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुने बताए । ‘मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धित मन्त्रालयको हो तर परराष्ट्र मन्त्रालयले निर्णय कार्यान्वयन गरिरहेको छैन’, गुरुङले सभामुखसँग रुलिङ गर्न माग गरे ।

उनले गम्भीर प्रकारका तयारी भइरहेको भन्ने सञ्चारमाध्यममा आइरहेको भन्दै भने, ‘एसपीपी सम्झौता नहुने भन्ने भइसकेपछि अरु नामहरूबाट, सैन्य सम्झौताको कन्टेन राखेर वर्कआउट गरिरहेको बुझिन्छ ।’

नेपालले एसपीपी स्वीकार नगर्ने भनेपछि त्यही विषय राखेर अर्को नाममा सम्झौता गर्न खोजेको उनको आशंका छ । नेपाललाई सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेकाले यो विषयलाई सरकारले पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media