पाल्पाको रिब्दीकोटमा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

पाल्पा । पाल्पा रिब्दीकोट गाउँपालिका–२ लघुवामा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।

आइतबार दिउँसो ४:३० बजे सो दुर्घटना भएको हार्थोक प्रहरीचौकीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचाल हुन सकेको छैन ।

दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि तानसेन पठाइएको प्रहरी चौकी हार्थोकले जनाएको छ । बस सडकबाट करीव १ सय मिटर तल खसेको जनाइएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीहरुले घाइतेहरुको उद्धार गरिरहेका छन् । बस सडकको डिल भासिएर दुर्घटना भएको स्थानीयवासी बताएका छन् ।

घटनास्थलमा अन्य घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम भईरहेको र घटनास्थलमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


Published :८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media