अछाम पहिरो प्रभावितलाई तत्काल राहत दिनूः गृहमन्त्री

राष्ट्रपाटी न्युज

९ श्रावण २०७९

काठमाडौँ । अछामको तुर्माखाँद पहिरो प्रभावितलाई तत्काल राहत दिन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले गरेको क्षतिबारे जानकारी लिएका छन् ।

अछामका प्रजिअ विश्वराज मरासिनी र डिएसपी नारायण डागीलाई टेलिफोन गरेर गृहमन्त्रीले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बांकी नराख्न निर्देशन दिए । आवश्यक सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै घाइतेको उपचार र तत्कालको राहत उपलब्ध गराउन मन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजू हरिकला विष्ट, भाइ वीरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको थियो । ६५ वर्षीया नैना विष्टको भने जीवितै उद्धार गरी अस्पताल लगिएको प्रजिअ मरासिनीले बताए ।

 


Published :९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media