संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

राष्ट्रपाटी न्युज

११ श्रावण २०७९

काठमाडौं । यसअघिको एमाले सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामाथिको सुनुवाइ फेरि स्थगित भएको छ ।

विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो । उनीहरुले उठाएको मागका सवालमा इजलासले केही आदेश गर्ने आशा गरिएको थियो ।

सुनुवाइ सुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवसायीहरुले संवैधानिक निकायलाई पनि विपक्षी बनाउनुपर्ने र उनीहरुबाट लिखित जवाफ आउनुपर्ने माग गरेका थिए ।

उनीहरुले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखे ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए । त्यसपछि सुनुवाइ स्थगित भएको हो ।


Published :११ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media