कांग्रेसका सर्त मानेमात्र निर्वाचनमा गठबन्धनः शेखर कोइराला

राष्ट्रपाटी न्युज

११ श्रावण २०७९

पर्सा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसका तीन सर्त माने मात्र अन्य दलसँग आगामी निर्वाचनमा गठबन्धन हुने अडान लिएका छन् ।

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने अडान लिएका छन् ।

उनले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेका तीन सर्त गठबन्धनका अन्य दलहरुले माने मात्र आगामी निर्वाचनमा चुनावी तालमेल हुने बताए । कांग्रेसका तीन सर्त आर्थिक नीति, परराष्ट्र नीति र कांग्रेसको नेतृत्वमा आगामी ५ वर्षसम्म स्थायी सरकार हुन् ।

नेता कोइरालाले कांग्रेस सबैभन्दा पुरानो र सबैभन्दा ठूलो दल भएकोले गठबन्धनका अन्य दलहरुले कांग्रेसको सर्त मान्नुपर्ने उनको जिकिर गरेका हुन् । उनले यसका साथै कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी मात्र आगामी निर्वाचनमा गठबन्धन हुनु पर्ने धारणा राखेका छन् ।

कोइरालाले कांग्रेसले नेकपा (माओवादी केन्द्र)ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न हुँदैन भने । उनले भने, “सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ ।”


Published :११ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media