“नेपाललाई श्रीलंका बन्नबाट रोक्न भ्रष्टाचार निर्मूल गर्नुपर्छ”

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिले देशमा सुशासन नरहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

नेता कोइरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल र सुशासन दिन सक्नुपर्ने बताए ।

उनले अहिलेका राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताए । उनले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताए ।

नेता कोइरालाले भने, ‘हामी राजनीति त गर्छौं तर जनतासँग धेरै टाढा भइसकेका छौँ । जनतासँग नजोडिकन हामी राजनीति गर्न थाल्यौं भने राजनीतिज्ञ त हौंला, भइन्छ तर वास्तवमा जनताले त्यसको फाइदा राजनीतिज्ञसँगबाट लिन पाउँदैनन् । त्यसकारण हामी जो राजनीति गर्छौं, जनतासँग जोडिन अत्यन्त जरुरी छ । राजनीति गर्ने व्यक्तिहरुमा र जो प्रजातन्त्रवादी हुन्छ, त्यसमा नैतिकता भएन भने फेरि राजनीति नगरे हुन्छ । नैतिकताको धेरै अंश राजनीति गर्ने व्यक्तिहरुमा हुनैपर्छ । सहकारी क्षेत्रबाट देशलाई फाइदा हुने काम गर्नुपर्छ । अहिले हामी अत्यन्त अफ्ठ्यारो परिस्थितिबाट गइरहेका छौँ । राज्यलाई कसरी जोगाउने भन्ने बारेमा सबैभन्दा पहिला सोचौं । राष्ट्र रहेमात्र हामी अघि बढ्ने हो । यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहीँको रहँदैनौँ । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ । श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ । भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ । सुशासन दिन सक्नुपर्छ । यो देशमा सुशासन छँदै छैन भने पनि हुन्छ ।’

नेता कोइरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए ।


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media