“शर्माविरुद्धको मुद्दा देशविरुद्धको अपराध हो, अन्तर्राष्ट्रिय मुद्दा बनाऔं”

राष्ट्रपाटी न्युज

१४ श्रावण २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्माविरुद्धको मुद्दा देशविरुद्धको अपराध भएको बताएका छन् । उनले बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गरी करको दायरा हेरफेर गराउने शर्माविरुद्धको मुद्दालाई अन्तर्राष्ट्रिय मुद्दा बनाउनुपर्ने बताए ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलहरूले आफू अनुकूल हुने गरी समिति बनाएर हुन्छ कि हुन्न भन्दै पूर्वअर्थमन्त्री चोख्याउने काम गरेको बताए ।

सरकारले गम्भीर गल्ती गर्दा पनि त्यसको प्रभावकारी छानबिन हुन नसकेको भन्दै उनले ११ सदस्यीय समितिमा एमालेलाई अल्पमतमा पारेर पूर्वअर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको बताए ।

उनले भने- ‘जसलाई चाहिएको त्यसलाई अल्पमतमा राखेर गठबन्धनमा बहुमत राख्ने गरी छानबिन समिति बनाएकाले त्यसले गठबन्धनको भनाइअनुसार निष्कर्ष निकालेको हो ।’

सरकारले छानबिन समितिमा पनि बहुमत र अल्पमतको खेल खेलेको भन्दै त्यसो गर्ने भए संसदमै उही दिन हुन्छ या हुन्न भनेको भए भइहाल्थ्यो नि भनी आक्रोश व्यक्त गरे ।

उनले यो सरकार बजेटमारा र ढिकुटीमाराहरुको सरकार भएको टिप्पणी गरे ।  कमिशन खाएर व्यपारीको एजेन्ट राखेर करको दायरा हेरफेर गर्ने अपराध सरकारले गरेको उनको भनाइ थियो।

‘छानबिन गरौं भन्दा किन गर्ने भन्ने ?  फुटेज नदिने, दिएको फुटेज पनि नबुझ्ने पारेर दिने, कल डिटेल हेरौं भन्दा हेर्न हुँदैन भन्ने , कल डिटेल हेर्दा त थाहा भइहाल्छ नि, समितिमा बसेकाहरुलाई इंगित गर्दै उनले भने ।

उनले भने, ‘देशका विरुद्ध अपराध भएको छ । ७ जना आफ्ना अर्कोतिर ४ जना विपक्षी सांसद राखेर हुन्छ वा हुन्न भन्ने ?  यो गर्न त संसदमा गठबन्धनको बहुमत छँदै थियो नि ? किन चाहियो समिति ?’ उनले नेपाली जनताले यस्तो छानबिनलाई अस्वीकार गर्नुपर्ने बताए ।
‘यो देशको विरुद्ध अपराध हो । देशको अर्थतन्त्रका विरुद्धको अपराध हो । एकाध घरानालाई पोस्नका लागि उद्योग र अर्थतन्त्रलाई धरासायी पार्ने, जानी-जानी अपराध गरिएको छ। यस्तो अपराध मामुली कुरा होइन । मलाई कसैले च्यालेन्ज गर्छ भने इन्टरनेशनल मुद्दा बनाऔं,’ उनले भने ।


Published :१४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media