महँगी तथा भ्रष्टाचारविरुद्ध एमालेको आज बृहत् जनप्रदर्शन

राष्ट्रपाटी न्युज

१६ श्रावण २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को महँगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा आज राजधानीमा बृहत् जनप्रदर्शन गर्ने भएको छ ।

जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप गर्न लागिएको जनप्रदर्शनको आवश्यक सबै तयारी पूरा भएको महँगी तथा भ्रष्टाचार विरुद्ध बृहत् जनप्रदर्शन आयोजक कमिटीका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट सुरु भई प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्ति बाटिकामा पुगेर समापन गर्ने कार्यक्रम रहेको नेता श्रेष्ठले जानकारी दिए । उनले आमनागरिक महँगीको चौतर्फी मारमा पर्दा पनि वर्तमान परमादेशी गठबन्धन सरकारले मूल्यवृद्धि नियन्त्रणमा कुनै पहल नगरेकाले सरकारलाई खबरदारी गर्न आयोजना गरिएको जनप्रदर्शनमा व्यापक सहभागिता जनाउन राजधानीवासीलाई आग्रह गरेका छन् ।

प्रदर्शनको समापनमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन वटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र त्यस अन्तर्गतका चार वटा जिल्ला कमिटी, सम्पर्क कमिटी, जन वर्गीय सङ्गठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागहरू लगायतको सहभागिता रहने छ ।

यतिबेला दैनिक उपभोग्य वस्तुमा चरम मूल्यवृद्धि भएको छ । दाल, चिनी, दूध, घ्यू–तेल, सवारी भाडा, सामान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभूत आवश्यकताका वस्तु र सेवाको मूल्य आकासिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य एक वर्षभन्दा कम अवधिमा नै दोब्बरभन्दा धेरैले बढाइएको छ । यसका कारण ढुवानी सेवा, सडक तथा हवाई यातायात सेवा, औद्योगिक उत्पादन र उपभोग्य वस्तुको समेत मूल्य अचाक्ली बढेको छ ।

भ्रष्टाचार र कमिशनतन्त्र मौलाएको छ । अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको छ । अर्थतन्त्रका प्रायः सबैजसो सूचकहरू नकारात्मक देखिएका छन् । मुलुकको परराष्ट्र नीतिलाई असन्तुलित बनाउँदै नेपाललाई शक्ति केन्द्रको क्रिडास्थल बनाईंदैछ ।

असन्तुलित र राष्ट्र हित विपरीतको नागरिकता विधेयक संसदीय प्रक्रिया मिचेर संसद्बाट हठात पारित गरिएको छ । भूराजनीतिक संवेदनशीलतालाई त ख्याल गरिएन–गरिएन, आफ्ना नागरिकमाथि हुने असमान व्यवहारलाई यसमार्फत सहीछाप गरिएको छ । परमादेशी गठबन्धनले सत्ताका लागि जस्तोसुकै सौदा बाजीसमेत गर्छ भन्ने यस राष्ट्र हित विपरीतको कामबाट पुष्टि भएको छ ।

राष्ट्रका लागि बोझ बनिसकेको वर्तमान गठबन्धनका गलत  काममा खबरदारीका लागि नेकपा ९एमाले० ले आम नागरिकलाई बृहत् जनप्रदर्शनमा सहभागी भई जनएकता प्रदर्शन गर्न आह्वान गरेको हो ।

 


Published :१६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media