चुनावको तयारी गर्न एमालेको सचिवालय बैठक बस्ने

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७९

काठमाडौँ । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्नसक्ने सम्भावना पनि छ । आसन्न निर्वाचनमा नेकपा एमालेले सत्ता गठबन्धन बाहिरका विचार मिल्ने दलसँग तालमेल गर्न सक्ने जनाएको छ । निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ताको काम सकिसकेको छ ।

सत्ता गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेका छन् ।


Published :२६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media