काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडामा प्रहरी परिचालन गरिएको छ ।
फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले बिहानदेखि नै अवरोध गरेपछि सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए । उनीहरुलाई नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएको स्थानीय बासिन्दाले बताए ।
राजनीतिक दलहरुको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । आइतबार गएका २५ वटा गाडीले मात्र फोहोर खसालेका थिए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रमेश पाण्डेले फोहोरको गाडीमा भएको अवरोध हटाउन २५० जना प्रहरी कर्मचारी परिचालन गरिएको बताए ।