बञ्चरेडाँडामा गाडी र सुरक्षाकर्मीमाथि गुलेली प्रहार गरी स्थानीयले रोके फोहोर झार्न

राष्ट्रपाटी न्युज

३० श्रावण २०७९

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीमाथि गुलेली हानेर फोहोर झार्न रोकेका छन् ।

स्थानीयबासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीय बासिन्दाबीच ठाउँठाउँमा झडप भएको छ । प्रहरीले स्थानीय बासिन्दालाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहोर झारेको छ । प्रहरीले लखेटेपछि स्थानीयवासीले डाँडामा बसेर गुलेली र ढुंगा प्रहार गरेका छन् ।

नेकपा एकीकृत समाजवादी धुनवेशी नगरपालिका एकका अध्यक्ष भिषण धितालले प्रहरीले दमन गरेर नै फोहोर झारेकोले झडपको स्थिति सिर्जना भएको बताए । ‘अहिले ठुलो झडप त छैन । नरोकिने हो भने यसले ठूलो रुप लिन्छ,’ उनले भने ।

नेपाली कांग्रेसका धुनवेशी नगरपालिका एकनम्बर वडा सभापति पूर्ण थिङले स्थानीयबासीमाथि लगाइएको झुटो मुद्दा खारेज गरेर वार्ताको वातावरण बनाउनुपर्ने बताए । काठमाडौं महानगरले आज २ सय भन्दा धेरै गाडी फोहोर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा हालसम्म ५० वटा गाडीको फोहोर मात्रै झारिएको छ । अरु गाडी बाटोमै छन् ।


Published :३० श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media