काठमाडौँ । एकता महिला कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । सो संस्थाले बुढानीलकण्ठ नगरपालिकाको बालुवाखानी स्थित फेरिल्यांड स्कुलमा शनिबार सो कार्यक्रमको आयोजना गरेको हो ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईको बिशेष आतिथ्यता एबम संस्थाकी अध्यक्ष दिल कुमारी बिकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु , लेखा समिति , ऋण उपसमिति तथा शिक्षा समितिका संयोजक एबम सदस्यहरु , संस्थाका सदस्यहरु लगायत बिभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
एकता टोलबासी ३४ जना दिदीबहिनीबाट सुरु गरिएको यस सहकारीमा अहिले ५५७ जना महिला दिदीबहिनीहरु संलग्न रहेका छन् । प्रत्येक सदस्यबाट यस सहकारीले हरेक महिना ५०० रुपैयाँका दरले सहकारीमा बचत गर्ने गरेको छ । छरिएर रहेको सानो सानो रकमलाई एकमुष्ट बनाई एकअर्काको समस्यामा सहयोग गर्ने उद्देश्य राखेको यस सहकारीले बिना धितो सदस्यहरुलाई २० हजारदेखि ५ लाखसम्म ऋण उपलब्ध गराउने गरेको संस्थाकी अध्यक्ष दिल कुमारी बिकले जानकारी दिएकि छिन्।
१७ हजार रुपैयाँबाट सुरु गरी विशेष गरी महिला गृहिणीहरुलाई समेट्दै आर्थिक पक्षमा सबल बनाउने उद्देश्यबाट प्रेरित यस संस्थाको हालको चुक्ता पुँजी १,३१,७२६ रहेको छ ।
बाढी पिडितलाइ सहयोग गर्ने ,सरसफाई अभियान संचालन गर्ने ,कौशी तरकारी खेति तथा माटो व्यबस्थापन सम्बन्धि निशुल्क तालिम संचालन गर्ने ,बोट बिरुवा ,मल बिउबिजन बितरण गर्ने ,बिभिन्न धार्मिक तथा सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्ने लगायतका विभिन्न सामाजिक कार्यहरु यस सहकारी संस्थाले गर्दै आएको छ।
यस संस्थाका सदस्यहरु बिरामी परेमा निर्व्याजी आर्थिक सहयोग गर्ने , असल ऋणीलाइ सम्मान गर्ने , जेष्ठ सदस्यलाइ सम्मान गर्ने , सुत्केरी भत्ता उपलब्ध गराउने लगायतका महत्वपूर्ण कार्यहरु समेत हुँदै आएका छन्।
SEE मा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यका सन्तानहरुलाई सम्मान गर्ने , सामुहिक कृषि पशुपालन गर्ने तथा खरिद बिक्रि केन्द्र खोल्ने , अर्गानिक तथा गड्यौले मल उत्पादन गर्ने यस संथाको योजना रहेको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा यस संस्थाले सामुहिक पशुपालन कार्यक्रम अन्तर्गत गाइपालन कार्य शुरु गरिसकेको छ भने भविष्यमा यसलाई अझ विस्तार गर्दै दुग्ध व्यबसायमा सफलता प्राप्त गर्ने योजना रहेको छ।