एमाले स्थायी कमिटी बैठकः एकढिक्का भएर चुनावको सामना गर्ने निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढिक्का भएर चुनावको सामना गर्ने निष्कर्ष निकालेको छ ।स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने बताए पनि आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष बैठकले निकालेको हो ।
बैठकले अब कुनै पनि गठबन्धनको नाममा पार्टीभित्र  अलमल वा फरक धारणा बनाउन नहुने निष्कर्षसमेत निकालेको छ ।
‘प्रचण्ड र माधव नेपालहरु कांग्रेस छाड्नै नसक्नेगरी गठबन्धनमा बसेका छन् । उनीहरु एमालेकोविरुद्ध ८ दलीय गठबन्धन बनाउने भनेर हिँडेका छन् यस्तो बेला हामीले वामपन्थी गठबन्धन भन्नुको अर्थ छैन । त्यहाँभित्रका नेता कार्यकर्तालाई आफूतिर ल्याउने हो’ अधिकांश स्थायी कमिटी सदस्यको भनाइ थियो । बैठकमा घनश्याम भुसाल, रघुजी पन्त, हिक्मत कार्की, शेरधन राई, शेरवहादुर तामाङलगायतका नेताहरुले धारणा राखेका छन् ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको मापदण्ड प्रस्ताव गरेको छ । सो प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटीले पारित गर्नेछ ।

बैठकमा बोल्ने अभिकांक नेताहरुले स्थानीय चुनावमा देखिएका कमजोरी दोहोरिन नदिने गरी पार्टीभित्र अध्यक्ष केपी ओलीको स्वरमा सबैको एक स्वर हुनुपर्ने बताए ।

यसैगरी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चारजनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।


Published :७ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media