मौसम पूर्वानुमानः देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौँ । देशका विभिन्न भागमा आज पनि मौसममा बदली र वर्षा हुने भएको छ ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।
प्रदेश–१ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ  ।
वर्षाको सम्भावना रहेका प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको छैन ।


Published :८ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media