काठमाडौँ । महाभियोग सिफारिस समितिको बैठक बुधबार पनि बस्दै छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको तेस्रो बैठक दिउँसो २ बजे बस्ने भएको हो ।
मंगलबार बसेको बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगबारे अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको हो ।
प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो । बैठकमा हिजो प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रस्तावित कार्यतालिकाको समय छोट्याएर भदौ २५ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने धारणा राखेको थियो । यो विषयमा बुधबार थप छलफल हुनेछ ।
२०७८ फागुन १ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाभियोगउपर अध्ययन गर्न २१ फागुनमा सिफारिस समिति गठन गरिएको थियो ।