प्रतिवेदन पेश गर्न सत्ता गठबन्धन बैठकद्वारा कार्यदललाई निर्देशन

काठमाण्डौं । सत्ता गठबन्धन दलका शीर्ष नेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै अपराह्न ४ बजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

गठबन्धनका शीर्ष नेताको बैठक आजै अपराह्न पुनः बस्नेछ । सत्ता गठबन्धन आबद्ध दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका छन् ।

आगामी मङ्सिर ४ गते एकै चरणमा देशभर निर्वाचन हुँदैछ । कार्यदलले ती निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन तयार गरी गठबन्धन बैठकमा पेश गर्ने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी रहेका थिए ।


Published :९ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media