कम्युनिष्ट एकताको नेतृत्व एमालेले नै लिनुपर्छः घनश्याम भुसाल

काठमाडौं । एमाले नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टी एकताको नेतृत्व एमालेले नै लिनुपर्ने बताएका छन् ।

पार्टीको पोलिट्ब्युरो बैठकमा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्व पुनर्स्थापनका लागि प्रस्ताव पेस गर्दै स्थायी कमिटी सदस्य समेत रहेका नेता भुसालले माओवादी केन्द्र र एकीकृत समाजवादीले कम्युनिष्ट एकताको नेतृत्व लिन नसक्ने भएकाले त्यसका लागि एमालेले नै पहलकदमी लिनुपर्ने बताए ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर भुसालले भदौ ७ गतेकै स्थायी कमिटी बैठकमा चार पेज लामो ‘फरक मत’ पेस गरेका थिए ।

‘अरूले के गर्छन् भन्ने कुरा गौण हो, हामी नै कम्युनिष्ट आन्दोलनका मुख्य शक्ति हौँ । त्यसैले एकताको पहलकदमी हामीले नै लिनुपर्छ,’उनले भने, ‘माओवादी र एकीकृत समाजवादीले कम्युनिष्ट एकताजस्तो महत्तम कार्यभारको जिम्मेवारी लिन सम्भव नै छैन । हामीले नै पहलकदमी लिनुपर्छ र त्यसमा नेतृत्व स्थापित गर्नुपर्छ ।’

भुसालले एउटा राजनीतिक पार्टी चलखेलका आधारमा अगाडि बढ्न नसक्ने बताए । कम्युनिष्ट पार्टीबीच एकताका साथ अगाडि बढ्दा मुलुकको वामपन्थी जनमत फेरि एकताबद्ध हुने भुसालको विश्वास छ । कांग्रेसबाट मुलुकको संकट समाधान नहुने पुष्टि भइसकेको पनि भुसालले उक्त प्रस्तावमा भनेका छन् ।

‘कांग्रेसबाट मुलुकको संकट समाधान हुँदैन भन्ने कुरा कैयौं पटक पुष्टि भइसकेको छ । मुलुकमाथि संकट आउँदा एमाले नै अगाडि आउनुपर्छ भन्ने पनि पुष्टि भइसकेको छ । त्यस्तो अवस्थामा हाम्रा कुन गल्ती–कमजोरीले वाम आन्दोलन विभाजित भयो भन्नेबारे श्वेतपत्रसहित हामी जनताका बीचमा जाँदा जनताले अझ ठूलो समर्थन दिनेछन् ,’उनले भनेका छन् ।

पार्टीको अझै ऐतिहासिक अवसर बाँकी नै रहेको बताउँदै भुसालले इतिहासमा गरेका कमजोरीबाट उम्मिने प्रयास गरियो भने आन्दोलन र पार्टीप्रति घोर बेइमानी हुने बताए ।


Published :९ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media