सरकारले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्नुपर्छः कांग्रेस नेता सिंह

राष्ट्रपाटी न्युज

१० भाद्र २०७९

काठमाण्डौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष र धाँदलीरहित हुनुपर्नेमा जोड दिए । उनले यसअघिका निर्वाचन पनि नेपाली काँग्रेसले इमान्दारिता पूर्ण र धाँदलीरहसत निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताए ।

नेता सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा नेपाली काँग्रेस आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा लाग्नुपर्ने बताए ।

नेता सिंहले काँग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भए पनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासिन रहँदा आवश्यक कानून निर्माण नगरेको आरोप लगाए । उनले नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानून निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको बिरोध गरिरहेको बताए । उनले संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आमनेपाली जनताले महसुस गर्ने गरेर अघि बढाउन नसकेको बताए ।

नेता सिंहले राणाकालमा समेत महिलालाई पढाउनुपर्छ भनेर अधिकार स्थापित गर्न र महिलालाई शिक्षाका लागि मात्रै नभइ मतदानको अधिकार दिलाउन पनि मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।


Published :१० भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media