काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् ।
न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी गरे । उनले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रटीय कमिटीमार्फत् चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे ।
सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताए ।
उनले भने, ‘आज यो गठबन्धनको कारणले मुलुक संकटमा छ । हाम्रो वैदेशिक सम्बन्धहरु बिग्री राख्या छ । अमेरिकासँग, भारतसँग, चीनसँग हाम्रो सम्बन्ध बिग्रेको छ । महाशक्ति राष्ट्रहरु चाँहि नेपालको मामिलामा एकअर्काबीचमा भनाभन गरिराखेका छन् ।
नेपालले त्यसमा सन्तुलन गुमाईरहेको अवस्था देखिन्छ अहिलेको सरकारको कारणले । त्यसो भएको हुनाले विश्व समुदायसँग एउटा मैत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हितमा सम्बन्ध कायम गर्ने । नेपालको हितमा सम्बन्धहरु कायम गर्ने । त्यो असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा एउटा पक्ष भयो । अर्कोतिर नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामथ्र्य भएको शक्ति आवश्यक पर्छ ।
र, त्यो नेकपा एमाले हो । त्यसो हुनाले देशभित्रको आवश्यक्ताले नेकपा (एमाले) को नेतृत्व खोजी राखेको छ । अन्तराष्ट्रिय परिस्थितिमा पनि नेपाललाई एउटा सन्तुलित ढंगले उभ्याउन पनि नेकपा (एमाले) को नेतृत्व खोजिराखेको छ । यिनै कुराहरुका साथ हामी चुनावमा जान्छौं । र, बहुमत ल्याउने संकल्पका साथ एमाले जान्छ ।
र, यो केन्द्रिय कमिटी बैठकले त्यो सन्देश दिन्छ । सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तरघात नहुने गरी पार्टीको सिंगो पंक्तिलाई परिचालन गर्न पनि केन्द्रिय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताए । उनले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीहरुलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दावी गरे । उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पारे ।
संवैधानिक व्यवस्था अनुसार चुनावमा दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामथ्र्यमा उभिएर निर्वाचनमा जाने उनको तर्क थियो । सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरुबाट सिकेर आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताए ।
चुनावी तालमेल होइन । नेकपा (एमाले) आफ्नो तागतमा आफ्नो सामथ्र्यमा, आफ्नो घोषणा पत्रको आधारमा, आफ्नो विचार र सिद्धान्तको आधारमा जनताको बीचमा जान्छ । र, पार्टीलाई सम्पूर्ण ढंगले यो निर्वाचनमा परिचालन गर्छ । गएको स्थानीय तह निर्वाचनमा हाम्रा केही नकारात्मक सन्देशहरु पनि छन । पार्टी भित्र कहीँकहीँ उम्मेदवार छनौट नमिलेको, पारदर्शिता नभएको, पार्टी भित्र अन्तरघात भएको, मतहरु अदलबदल गरेको यस्ता केही घटनाहरु पनि प्रतिनिधिमूलक ढंगले विभिन्न ठाउँमा छन् ।