आज हरितालिका तिज, भगवान् शिवको उपासना गरी मनाइँदै

राष्ट्रपाटी न्युज

१४ भाद्र २०७९

काठमाडौं । हिन्दू नेपाली महिलाहरूले आज महत्वपूर्ण पर्व तिज मनाउँदै छन् ।

यो पर्वमा भदौ महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरूलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मिठा–मिठा खाद्यवस्तुहरू तयार गरिन्छ र प्रेमपूर्वक उनीहरूलाई खुवाइन्छ । भाद्र महिनाको शुक्लपक्षको तृतीयाको दिन तिज हो । प्रतिपदाबाट पञ्चमीसम्मका दिनलाई समन्वित रूपमा तिज भने पनि खास तिज चाहिँ यसै दिनलाई मानिन्छ । यो दिन महिलाहरू निराहार व्रत बस्छन् ।

भगवान् शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तिज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

साउने संक्रान्तिदेखि तिजको रौनक सुरु हुने गर्दछ । तिजमा खासगरी भगवान् शिवको आराधना गरिन्छ । यसको अर्को पक्ष नाचगान र मनोरञ्जन हो । नेपालका प्रायः सबै समुदायका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको पर्व हो तिज ।

प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई आफ्नो पति पाऊँ भनी पहिलोपटक व्रत बसेको बताइन्छ । सोही मान्यताअनुसार पति नभएकाले राम्रो पति र विवाहितले पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने प्रचलन रही आएको छ । यस दिन बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर व्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन छ ।

तिजको दिन बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरलगायत देशभरमा शिवालयहरूमा महिला व्रतालुको ठूलो भिड लाग्ने गर्दछ ।


Published :१४ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media