संघीय सरकारले प्रदेश सरकारको हात बाँधेर राखेको पूर्व मुख्यमन्त्री पौडेलको दाबी

राष्ट्रपाटी न्युज

२० भाद्र २०७९

मकवानपुर । वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन्‍ ।

प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा बोल्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताए । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो उनले गरे ।

उनले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको दाबी गरे ।

उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको बताए । संघीयता आउने बित्तिकै दिल्लीका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उनले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारले दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको बताए ।

उनले भने ‘दिल्लीको केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने हाम्रो मानसिकता छ तर त्यसका लागि हामीसँग कति अधिकार छ भन्ने विश्लेषण गर्दैनौँ ।’

उनले संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगाउनु भयो । उनले संघीयता बलियो बनाउन के कस्ता बाधाहरु छन् भन्ने बारेमा मात्रै छलफल चलेको बताए ।


Published :२० भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media