काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ ।
गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भइसकेको छैन । कार्यदलको बैठक आज पनि बस्दैछ । तर पटक पटक निश्कर्षबिहीन भनिएको बैठकबाट लगभग एउटा टुंगो नजिक पुगिसकेको र संभवत : आज कार्यदल टुंगोमा पुग्ने बताइएको छ ।
बैठक आज बेलुकी ६ बजे बस्दैछ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी छ ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।
दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने बताइएको छ ।
गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल र सिट सङ्ख्या टुङ्गो लगाउनेबारेको खाका बनाउन कार्यदल गठन गरेका थिए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य रहेका छन् ।