काठमाडौँ । नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला कार्यसमितिले समानुपातिकतर्फ नाम सिफारिस गरेको प्रति केन्द्रीय सदस्य बलबहादुर केसीले असहमति जनाएका छन् ।
उनले आफूसँग कुनै छलफल र सल्लाह नगरी विपरीत उम्मेदवारको नाम सिफारिस गरिएको बताएका छन् । केसीले सामाजिक सञ्जालमार्फत् आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रत्यक्षतर्फबाट नै सहभागी हुने बताएका छन् ।
नेपाली कांग्रेस सोलुखुम्बुले केन्द्रीय सदस्य केसीको नाम समानुपातिकतर्फ सिफारिस गर्दै अर्का केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।
जिल्ला कार्यसमितिले नाम सिफारिस गर्दा केसी आमाको मृत्यु संस्कारको १३औं दिने काजकिरियामा थिए । त्यही बेला केसी डाइवेटिज, कम रक्तचाप र डेङ्गु संक्रमणको बिरामी भई अस्पतालमा उपचारत थिए ।
यसअघिको निर्वाचनमा पनि बलबहादुर केसीलाई सोलु कांग्रेसले सिफारिस गरेको थिएन तर तत्कालीन सुशिल कोइरालासँग धर्ना कसेर केसीले सिफारिस नभई पनि टिकट लगेका थिए ।
पछिल्लो समय पनि देउवा गुटका आङगेलु शेर्पा र शेखर कोईराला केसीविच सोलु कांग्रेसमा अधिवेशनदेखि नै तीव्र विवाद रहँदै आएको छ ।
केसीले सामाजिक सञ्जालमा अलोकतान्त्रिक, विधि विधान र केन्द्रीय परिपत्र विपरीत उम्मेदवारी सिफारिसलाई लिएर सामाजिक सञ्जालहरूमा गरिएको गलत प्रचारप्रति घोर भर्त्सना गर्दै पूर्णरुपले असहमति प्रकट गर्ने उल्लेख गरेका छन् ।