मोहन वैद्यको पार्टी विभाजित, नयाँ मोर्चाको अध्यक्षमा बिष्णु खड्का

राष्ट्रपाटी न्युज

२५ भाद्र २०७९

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पार्टी संग असन्तुष्ट रहेको बिष्णु खड्का नेतृत्वको समूहले नयाँ मोर्चा घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ नामक समुह घोषणा गरेको हो ।

वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) दार्शनिक रुपले सारसंग्रहबादी , राजनीतिक रुपले संसदबादी ,सांगठानिक रुपले निषेधात्मक अतिभुतबादी तथा बिसर्जनबादी,संघर्षको दृष्टिकोणले आत्मसुरक्षाबादी र आर्थिक दृष्टिले जुझारु अर्थबादी भएको आरोप लगाउदै उक्त समुहले बिद्रोह गर्नु परेको जनाएको छ।नवगठित ‘क्रान्तिकारी मोर्चा नेपाल’का अध्यक्ष बिष्णु खड्काले वैद्य नेतृत्वको पार्टीभित्र स्वार्थका झुण्डहरुको गुट, नेतृत्वको गुलामी गर्नेको समूह, दलालीकरणको विकाससँगै क्रान्तिकारी आवरणमा प्रतिक्रान्तिकारीहरु हावी भएको टिप्पणी गर्दै नेतृत्वमा संकिर्णवाद, जडसुत्रवाद, निम्न पुँजीवादी चिन्तन र दक्षिणपन्थी अवसरबाद हावी भएको पनि आरोप समेत लगाएका छन् ।

नवगठित ‘क्रान्तिकारी मोर्चा नेपाल’ले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनसमेत बहिष्कार गर्ने निर्णय गरेको छ । देशमा अहिले रहेको राजनीतिक व्यवस्थाले जनताको हित नहुने भन्दै अहिलेको व्यवस्था हटाउनुपर्नेमा जोड दिँदै यही व्यवस्था रहेसम्म मोर्चाले संघर्षका कार्यक्रम जारि राख्ने समेत चेतावनी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष विष्णु खड्काले पार्टीभित्र आफुहरुले विद्रोह गरेर संयुक्त राजीनामा दिएर आज नयाँ मोर्चाको घोषणा गरेको जानकारी दिए । राजनीतिक पार्टी जनताको बीचमा जानुपर्छ भन्ने माग राखेपनि नेतृत्वले त्यसमा सुनुवाई नगरेको उनले स्पष्ट पारे । उनले भने,“हामीले क्रान्तिकारी शक्तिको रक्षा गर्नूपर्ने माग अघि सारेका थियौं । यदि साँच्चिकै क्रान्तिकारी पार्टी हो भने सिद्धान्त र व्यवहारमा तालमेल हुनैपर्छ । देखाउने दारा एउटा र चपाउने दारा अर्कोको रुपमा पार्टीको विकास भयो र लाइन छाडेपछि पार्टी परित्याग गर्यौं ।”

उक्त समुहले २०७८ चैत्र १३ गते ५ नं. प्रदेशबाट र गत साउन १६ गते ३ नं प्रदेश साथै देशैभरिबाट सामूहिक राजीनामा दिँदै औपचारिक रुपमा पार्टी परित्याग गरेको जनाएको छ। उक्त कार्यक्रममा अध्यक्ष खड्का लगायत केन्द्रीय सदस्य सुरेश वली, प्रदेश सदस्य धनवीर चौधरीलगायत सयौंको संख्यामा नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरी नयाँ मोर्चा निर्माणमा लागेको जानकारी समेत दिइएको छ ।

कार्यक्रममा अभियन्ता डिबी लामिछाने, नेकपा केन्द्रीय सचिवालय सदस्य कृष्णहरी भट्टले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन भने गणेश घिमिरेले गरेका थिए ।


Published :२५ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media