अछाम पहिरोमा परी मृत्यु हुनेको संख्या नौ पुग्यो, सातजना बेपत्ता

राष्ट्रपाटी न्युज

१ आश्विन २०७९

अछाम । अछामका विभिन्न भागमा पहिरो जाँदा नौजनाको मृत्यु र सात जना बेपत्ता भएका छन् । लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । बर्षातका उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

त्यसैगरी यहाँको कमलबजार नगरपालिकामा पहिरो गएर घर पुरिँदा सातजनाको मृत्यु भएको छ । वडानस्थित ठाँटीखाँदका सातैजना घरको माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको शव फेला पारिएको छ । पहिरोमा परी अन्य आठजना घाइते भएका भएकामा चारजनाको अवस्था जटिल छ ।

त्यसैगरी पहिरोकै कारण ढकारी गाउँपालिकामा एक घर पुरिँदा तीन जना घाइते भएका छन् । अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले यहाँका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको बताए ।


Published :१ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media