कपन आगलागीमा परी मृत्यु भएका तीनैजनाको खुल्यो पहिचान

काठमाडौं । काठमाडौंको कपनमा भएको आगलागीमा परी मृत्यु भएका तीनैजनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।

उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आगलागी हुँदा अर्का एकजना घाइते भएका छन् । घाइते हुनेमा कपन बस्ने कुशल बुढाथोकी रहेको प्रहरीले जनाएको छ।

उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार राति बूढानीलकण्ठ नगरपालिका–१० स्थित राम मन्दिरनजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी भएको थियो ।

राति पौने ७ बजे लागेको आगो तीन घण्टापछि प्रहरी, स्थानीय, दमकलको सहायताबाट नियन्त्रणमा लिइएको थियो ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । सो ट्रेकिङ एजेन्सीको कार्यालय प्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको रहेको बताइएको छ ।

उक्त घरमा ट्रेकिङ अफिस र ट्रेकिङमा प्रयोग हुने सामान राखिएको थियो । जसमा अक्सिजन सिलिण्डर पनि भण्डारण गरिएको थियो । सोही अक्सिजन सिलिण्डर पड्कीएर क्षति पुगेको प्रहरीले जनाएको छ ।


Published :अशोज ६, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media