यसपटकको दसैँमा २० लाखले उपत्यका छाड्ने अनुमान

राष्ट्रपाटी न्युज

१३ आश्विन २०७९

काठमाडौं । दसैं लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् । घटस्थापनादेखि बुधबारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायात मार्फत बाहिरिएका छन् ।

यो संख्या झनै बढ्ने आँकलन गरिएको छ । शुक्रबार पछि दर्सैंको सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ ।

ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् ।

यसपटक दसैँको वेला झन्डै २० लाखले उपत्यका छाड्ने आँकलन गरिएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।


Published :१३ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media