अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, नेपालमा मूल्य बढ्ने

राष्ट्रपाटी न्युज

कार्तिक ३, २०७९

काठमाडौँ । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ५४ पैसा छ भने बिक्रीदर एक सय ३३ रुपैयाँ १४ पैसा छ । केन्द्रीय बैंकले अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३२ रुपैयाँ आठ पैसा तोकेको थियो ।

त्यस्तै आज युरोको खरिद मूल्य एक सय २९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य एक सय ३० रुपैयाँ २४ पैसा रहेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो। नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ। तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मकसमेत पर्ने जानकारहरु बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ। यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ ।

त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयातीत बस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने हुन्छ ।


Published :कार्तिक ३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media