“नेपाललाई हामी श्रीलंका बनाउने कि सिंगापुर ?”

राष्ट्रपाटी न्युज

५ कार्तिक २०७९

भक्तपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतले नेपाललाई श्रीलंका बनाउने कि सिंगापुर बनाउने भन्ने कुरा यसपालीको निर्वाचनले प्रष्ट पार्ने बताएका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं २ का संघीय संसदका उम्मेद्वार बस्नेतले एमालेले जिते देश सिंगापुरको बाटोमा जाने र गठबन्धनले जिते देश श्रीलंकाको बाटोमा जाने बताए । ‘नेपाललाई हामी श्रीलंका बनाउने कि सिंगापुर’ बस्नेतले कार्यकर्ता माझ भन्नुभयो ‘त्यस कारण हामीले सुझबुझ प्रयोग गरौं । एमालेलाई मत दिएर देशलाई सिंगापुरको बाटोमा हिडाऔं ।’

बस्नेतले निर्वाचनका लागि एमालेले चारवटा रणनीति अपनाउनुपर्ने बताएका छन् । कार्यकर्ताहरुलाई निर्देशन दिंदै उनले पहिलो चरणमा प्रत्येक मतदाताको घरघरमा एमाले कार्यकर्ता पुग्नुपर्ने बताए । दोस्रो चरणमा टोलटोलमा भेलाको आयोजना गर्नुपर्ने उनको धारणा छ । ‘यस्तो बेलामा उम्मेद्वार सकेसम्म पुग्ने, पुग्न नसके स्थानीय नेताले उम्मेद्वारको प्रतिनिधिको रुपमा पार्टीका धारणा राख्नुपर्दछ ’ बस्नेतले भने ।

तेस्रो चरणमा उम्मेद्वारसहितको घरदैलो कार्यक्रम र चौथो चरणमा आक्रामक रुपमा विपक्षीको भण्डाफोर गर्नुपर्ने बस्नेतले बताए । यस चरणमा पार्टी र उम्मेद्वारलाई लागेका आरोपको खण्डन र विपक्षी उम्मेद्वारको भण्डाफोर गर्न बस्नेतले कार्यकर्तालाई निर्देशन दिए ।


Published :५ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media