संसदमा जनआवाजलाई सशक्त रुपमा प्रस्तुत गर्न ओलीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क र अध्ययनका आधारमा सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न पार्टीका सङ्घीय सांसदहरूलाई निर्देशन दिएका छन् ।

एमालेको केन्द्रीय संसदीय विभागले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जनसरोकारका विषयमा गहिरो अध्ययन, तथ्यमा आधारित बहस तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले संसद्मा जिम्मेवार र प्रभावकारी प्रतिपक्षको भूमिका लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सांसदहरूलाई नीति निर्माण प्रक्रियामा जनताको आवाजलाई अझ सशक्त ढंगले उठाउन आग्रह गरे ।

उनले जनताको आवाजलाई तथ्य र प्रमाणका आधारमा अझ बुलन्द बनाउँदै सरकारलाई बढी जवाफदेही बनाउन सांसदहरूले सक्षम, जिम्मेवार र दूरदर्शी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, संसदीय दलकी उपनेता पद्माकुमारी अर्याललगायत नेताहरूले पनि प्रशिक्षण दिएका थिए ।

एमालेले संसदीय भूमिकालाई थप प्रभावकारी, अध्ययनशील र परिणाममुखी बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जनाएको छ।


Published :साउन ३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media