आज हरिबोधनी एकादशी तुलसीको विवाह गरी मनाइँदै

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०७९

काठमाडौँ ।  शुक्रबार कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ।

हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीलाई मानिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्। अशाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ। विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ।

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो।

आजको दिन भगवान् विष्णुको भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ। यसरी गरिएको पूजा आराधनाबाट सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

हरिबोधिनी एकादशीका दिन घर घरमा पूजा गर्दै आएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिने चलन छ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने धार्मिक विश्वास छ। तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ।


Published :कार्तिक १८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media