काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदै हुनुहुन्छ । १७ जना प्रतिनिधिमण्डलको टोलीसहित सोमबार साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिनुभयो ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने हुनुभएको हो । ‘हामी भोलि अबेर मात्र पुग्छौं, पर्सि राष्ट्रपतिले वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्नुहुनेछ,’ ढकालले भन्नुभयो ।
सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिनुभयो । सो अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो । जसलाई मन्त्रिपरिषदले त्यतिबेलै स्वीकृत गरेको थियो ।
उक्त कार्यक्रममा पनि राष्ट्रपतिले छोटो मन्तव्य दिने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते स्वदेश फर्कनुहुनेछ ।