बूढानिलकण्ठ -१ मा एमालेको घरदैलो, ५०० मतले लिड गर्ने दावी

राष्ट्रपाटी न्युज

२५ कार्तिक २०७९

काठमाडौं । आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्।

नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेका डा. राजन भट्टराई र प्रदेश सभा सदस्य उम्मेदवार जयराम थापा सहित आज बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा घर दैलो कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा नेकपा एमालेका समानुपातिक सदस्य उम्मेदवार बिदुर कार्कीको समेत उपश्थिति रहेको थियो। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा यस वडामा नेकपा एमालेले पुरै प्यानल जितेको थियो। बिहानै शुरु भएको घर दैलो अभियानमा उत्साहजनक रुपमा स्थानीय सहभागी भएको र राजन भट्टराई तथा जयराम थापाको जितलाई सुनिश्चित गर्ने आधार वडा नम्बर-१ ले तयार गरेको काठमाडौं क्षेत्र नम्बर ४ (२) नेकपा एमालेका निर्वाचन परिचालन कमिटिका संयोजक राजन पोख्रेलले बताएका छन्।

बूढानिलकण्ठ- १ नेकपा एमालेको आधार इलाका भएको दावी गर्दै उनले स्थानीय तहको निर्वाचनमा बूढानिलकण्ठमा एमालेलाई जिताउने संकेत गर्ने यहि वडा रहेको भन्दै यो पटक पनि जनताको उत्साहले एमालेको विजयको संकेत गरेको उनको भनाइ छ।उनले नेकपा एमालेले यस वडामा ५०० भन्दा बढी मतले लिड गर्ने दावी समेत गरेका छन्।


Published :२५ कार्तिक २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media