फेरि सुदूरपश्चिम पुगे एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

कार्तिक २६, २०७९

काठमाडौँ । सुदूरपश्चिमको दार्चुला जिल्लाबाट चुनावी सभाको आरम्भ गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली आज शनिबार पुनः सुदूरपश्चिम पुगेका छन् ।

गत कात्तिक १८ गते ओलीले दार्चुला, बैतडी र कंचनपुरको चुनावी सभालाई सम्बोधन गरेका थिए । ८ दिनपछि उनी चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आएका हुन् । श्री एयरलाईन्सबाट धनगढी पुगेका ओली दिपायल र कैलालीका चुनावी सभालाई सम्बोधन गर्न हेलिकोप्टर प्रयोग गर्नेछन् ।

अध्यक्ष ओलीले डोटीको दिपायल, कैलाली निर्वाचन क्षेत्र ४ मा रहेको अत्तरिया र कैलाली निर्वाचन क्षेत्र २ रहेको लम्कीको चुनावी शभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका सचिव धर्मराज पाठकले बताए ।

नेकपा एमालेले महत्वका साथ उठाएको बिषय चुच्चे नक्सा सुदूरपश्चिम प्रदेशको दार्चुलामा पर्छ। नेकपा एमालेको सरकारका पालामा भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेखसहितको भुभाग  समेटेर नक्सा बनाइएको र यो भुभाग फिर्ता गर्न पनि एमाले सरकार आवश्यक रहेको सन्देश दिन दार्चु्लाबाट चुनावी सभाको आरम्भ गरेको दार्चुलामा सम्बोधनका क्रममा ओलीले भनेका थिए ।

‘पछाडी परेका समुदायका जनतालाई समस्या समाधान गरेर बिकासको मूलधारमा ल्याउने र नेपालको एक इन्च भूमि पनि गुम्न नदिई गुमेको भुभाग फिर्ता ल्याउने ग्यारेण्टी गर्ने दुई मुख्य कुराको सन्देश दिन दार्चुलाबाट प्रचार अभियान प्रारम्भ गरिएको हो’ उनले भनेका थिए ।


Published :कार्तिक २६, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media